पाँच सय वर्षसम्म कहाँ हरायो लुम्बिनी ? यस्ता छन् ५ आशंका

Facebook
WhatsApp
Twitter
Email

प्रदीप आचार्य
ईशाको सातौं शताब्दी अर्थात आजभन्दा १४ सय वर्षअघि पनि बुद्ध जन्मस्थल लुम्बिनीमा थुप्रै तीर्थयात्रु आए । खासगरी चिनियाँ यात्रुले लुम्बिनी घुमेपछि लेखेका यात्रा वृतान्तहरु लुम्बिनीको पहिचान र प्रचारका लागि महत्वपूर्ण दस्तावेज नै बने ।

चौथो शताब्दीमा लुम्बिनी भ्रमण गर्ने सेङ साई, पाँचौं शताब्दीमा लुम्बिनी आउने फाहियान र सातौं शताब्दीमा हुनएन साङलगायत थुप्रै अन्तर्राष्ट्रिय बौद्ध तीर्थयात्रु लुम्बिनीलाई बौद्ध आस्थाको केन्द्र मानेर आएका हुन् । यसको अर्थ त्यतिबेला नै लुम्बिनी अन्तर्राष्ट्रिय बौद्ध तीर्थस्थलका रुपमा प्रचार भइसकेको थियो ।

पुरातत्त्व तथा इतिहासका विज्ञहरु ईशापूर्व २४९ मा भारतीय सम्राट अशोक आउनु अघिदेखि नै लुम्बिनी बौद्ध समुदायको आस्थाको केन्द्र बनिसकेको दाबी गर्छन् । सम्राट अशोकले लुम्बिनी र कपिलवस्तुका बौद्ध स्थलहरुमा खडा गरेका स्तम्भ र तिनमा कुँदिएका लिपिहरुले यस्ता दाबीहरुलाई पुष्टि गर्छन् ।

विभिन्न खालका दस्तावेज र पुरातात्त्विक अन्वेषणहरुले यो कुराको पुष्टि गरेका छन् कि सातौं शताब्दीसम्म आइपुग्दा लुम्बिनीमा हजारौं–लाखौं तीर्थयात्रुले यात्रा गरिसकेका थिए । तर दस्तावेजहरुले सातौं शताब्दीमा हुएन साङ, वु–कुङ र फाङ चिह् भन्ने चिनिया‘ पर्यटकहरु लुम्बिनी आएपछि चौधौं शताब्दीसम्म लुम्बिनी भ्रमण गर्ने पर्यटकहरुका विषयमा बोलेका छैनन् ।

यसको अर्थ सातौं शताब्दीदेखि चौधौं शताब्दीबीच करिब ७ सय वर्षसम्म लुम्बिनी ओझेलमा पर्यो । तर चौधौं शताब्दीको सुरुमै अर्थात आजभन्दा सात सय वर्षअघि कर्णाली क्षेत्रका राजा रिपु मल्ल लुम्बिनी आएर सम्राट अशोकले स्थापना गरेको स्तम्भको टुप्पोमा ‘ॐ मणि पदमे हुं, श्री रिपुमल्लचिरंजयतु १२३४’ कुँदाएर गएका थिए । त्यही शताब्दीमा जितारी मल्ल र आनन्द मल्लसमेत लुम्बिनी आएको दाबी विभिन्न दस्तावेजहरुमा गरिएका छन् । त्यसपछि भने लुम्बिनी साँच्चिकै हरायो ।

चौधौं शताब्दीदेखि १८९६ सम्म लुम्बिनीमा कुनै पनि गतिविधि भएनन् । यहाँ कुनै तीर्थयात्रु पनि आएनन् । अझ प्रष्टसँग भन्दा चौधौं शताब्दीदेखि १९ औं शताब्दीसम्म लुम्बिनी हरायो । जसका कारण शाक्यमुनि बुद्ध र लुम्बिनीको सम्बन्ध विस्मृत हुन पुग्यो ।

यो पवित्र बौद्ध तीर्थस्थल करिब पाँच सय वर्षसम्म लुप्त अवस्थामा रह्यो । यसबाट बौद्ध समुदायलाई ठूलो हानि भएको दाबी पनि गरिन्छ । कुनै बेला अन्तर्राष्ट्रिय तीर्थयात्रुको भीड लाग्ने लुम्बिनी चौधौं शताब्दीपछि एकाएक कसरी हरायो ? यसको ठ्याक्कै जवाफ आजसम्म कसैले दिन सकेका छैनन् । तर यसको अध्ययन अनुसन्धानमा संलग्न विभिन्न व्यक्तिहरुले आ–आफ्ना धारणा भने राखेका छन् ।

१. लुम्बिनीमा ठूलो बाढी आयो
पुरातत्त्वविद् तथा लुम्बिनीका अध्येता वसन्त बिडारी चौधौं शताब्दीतिर लुम्बिनीमा ठूलो बाढी आएका कारण लुम्बिनी हराएको हुनसक्ने अड्कल काट्छन् । घना जंगलको बीचमा रहेको लुम्बिनीमा ठूलो बाढी आएपछि यस क्षेत्रको बस्ती बगाएको र बुद्ध जन्मस्थल बालुवाले पुरेको हुनसक्ने अनुमान गरिन्छ ।

यस क्षेत्रको उत्खननका बेला पुरातात्त्विक सामग्रीहरु बालुवाले छोपिएको अवस्थामा फेला पर्नुले यो दाबीलाई पुष्टि गर्न मद्दत गर्छ । तर पुरातत्त्वविद् बिडारी चौधौं शताब्दीमा रिपु मल्ल लुम्बिनी आए पनि सातौं शताब्दी अघिदेखि नै लुम्बिनी उपेक्षित हुन थालेको अनुमान गर्छन् ।

२. लुम्बिनीमा भूइचालो गयो कि ?
१२१८ साल असारमा नेपालमा करिब ७.७ रेक्टर स्केलको भूकम्प गएको विज्ञहरूको भनाइ छ । यही भूकम्पमा परी राजा अभय मल्लको निधन भएको थियो । यो भूकम्पले काठमाडौँ उपत्यकाको एकतिहाइ जनसंख्यालाई प्रभाव पारेको थियो ।

स्थानीय बासिन्दाले १५ दिनदेखि एक महिनासम्म सहर छोड्नुपरेको थियो । यस्तै रेकर्ड गरिएकामध्ये दोस्रो ठूलो भूकम्प वि.सं. १३१६ को हो । यो भूकम्पले पनि अत्यासलाग्दो ढङ्गले क्षति पुर्याएको अनुमान छ । जसका कारण मुलुकमा महामारीका साथै अनिकाल परेको थियो ।

त्यस्तै वि.सं. १४६५ मा आएको भूकम्पले रातो मच्छिन्द्रनाथ मन्दिरलगायत अन्य दर्जनौं सम्पदा ढले । जमिनमा ठूल्ठूला धाँजा फाटे । जसले गर्दा पानीका मुहानसमेत सुके । त्यस भूकम्पमा सयौं मानिस तथा पशुको ज्यान गयो, हजारौं घर भत्किए ।

यिनै भूकम्पहरुका कारण लुम्बिनीमा भएका संरचनाहरु भत्किएको र जमिनमुनि धसिएको हुन सक्ने अनुमानसमेत गरिएको छ । तर उक्त भूकम्पले लुम्बिनीसहित पश्चिम क्षेत्रमा के कति क्षति गरेको थियो भन्ने कुरा कहीं पनि प्रस्ट लेखिएको छैन ।

३. हिन्दू अतिवादीको आक्रमणमा पर्यो कि ?
सातौं शताब्दीतिर लुम्बिनी क्षेत्र सम्राट हर्षबद्र्धनको अधिनमा थियो । हर्षबद्र्धनले बौद्ध धर्मप्रति निकै सदासयता देखाएका थिए । उनले सकेसम्म बौद्ध धर्मको प्रचारका साथै यसको संरक्षण सम्बद्र्धनका कामहरु गरे । तर उनको मृत्युपछि बौद्ध धर्मको संरक्षणमा तदारुकता देखाउने राजाहरु जन्मिएनन् । सातौं र आठौं शताब्दीको बीचमा कुमारिल भट्ट जस्ता बौद्धविरोधी कट्टर हिन्दूवादीहरुको प्रभाव देखिन थालेको थियो । हिन्दू धर्मलाई जीवन्तता दिन बौद्ध धर्मको विनाश गर्नुपर्ने मान्यता उनको थियो । लुम्बिनीसहित कपिलवस्तु क्षेत्रमा उनले आक्रमण गरेका हुन सक्छन् भन्ने अनुमान छ ।

त्यस्तै नवौं शताब्दीमा वैदिक धर्मका प्रकाण्ड विद्वान मानिने शंकराचार्यको बौद्धविरोधी अभियानका कारण लुम्बिनी अतिक्रमणको चपेटामा परेको भनिन्छ । उनले भारत र नेपालका अधिकांश ठाउँमा हिन्दू धर्म स्थापित गर्ने काममा ठूलो सफलता प्राप्त गरेका थिए ।

कुमाउ–गढवाल क्षेत्रमा बौद्ध धर्मको प्रभावलाई लगभग निर्मूल पार्न उनी सफल भएका थिए । कतिपय यो कुरामा सत्यता नरहेको दावी पनि गर्छन् । तर बौद्ध समुदायले शंकराचार्यका कारण ठूलो क्षति व्यहोर्न परेको कुरा बिर्सिन सकेका छैनन् । सम्भवतः लुम्बिनी र कपिलवस्तु क्षेत्रमा पनि उनले उपस्थिति जनाए र बौद्ध तीर्थस्थलहरुमा हिन्दू पुजारीहरु राखेर कब्जा जमाएका हुन् भन्ने मान्यता छ । कालान्तरमा लुम्बिनीमा देखिएका कतिपय हिन्दू गतिविधिहरुले यो पवित्र स्थल हिन्दू धर्मको कब्जामा परेको पुष्टि पनि गर्छन् ।

मायादेवीलाई वनदेवी मानेर पूजा गरिनु, हिन्दू पुजारीहरु भेटिनु, शिवलिङ्गसहितका संरचना भेटिनु र एक समय मायादेवी मन्दिरमा बलि दिने प्रथासमेत रहेका तथ्यहरु लुम्बिनी हिन्दूहरुको कब्जामा परेका प्रमाणहरु हुन् ।

कतिपय विद्वानहरुले शंकराचार्य आफै लुम्बिनी नआए पनि सबैतिर हिन्दू धर्मको पुनःस्थापना गरेर बौद्ध जगतलाई अल्पमतमा पारेका कारण बौद्धमार्गीहरु आफै यो क्षेत्र छाडेर भाग्न बाध्य भएको हुन सक्ने अड्कल पनि काटेका छन् ।

केहीले त लुम्बिनीको अस्तित्व र पहिचानमाथि संकट सिर्जना गर्न लुम्बिनी शब्दको अपभ्रंशसमेत गरिएको बताउँछन् । लुम्बिनीलाई रुमिनदेई वा वनदेवी भनेर पूजा गरिनु पनि यसैको उदाहरण भएको दाबी उनीहरुको छ ।

४. लुम्बिनीमा मुसलमानहरुको उपस्थिति
आठौं शताब्दीको मध्यसम्म आइपुग्दा मध्य एसियाका राज्यहरु अरबी सैन्य शक्तिसँग प्रतिरोध गर्न असमर्थ भइसकेका थिए । जसका कारण अरबी साम्राज्यको अधीन स्वीकार गर्न बाध्य भए । अरबी सैन्यको दमनका कारण ती क्षेत्रका बौद्धहरु मुस्लिम बन्न बाध्य पारिएको इतिहास पढ्न पाइन्छ ।

सन् १००८ मा महमुद गजनवीका तुर्क सैनिकहरुले भारतीय सैनिकलाई पिछा गर्दै हिमालय नजिकैको तराई क्षेत्रसम्म आएका थिए । अर्का सेनापति इख्तियारुद्दिन मुहमद बिन वख्तियार खालजीले राज्य विस्तारका सिलसिलामा बिहार र बंगाल क्षेत्रमा आफ्नो पकड जमाउन थालेका थिए । उनी कुतुबुद्धिन ऐबकका प्रभावशाली सैनिक अफिसर थिए । उनले गंगा नदी आसपास, पश्चिमी बिहारको सिमानामा रहेको बौद्ध प्रान्तीय क्षेत्रमा भारी लुटपाट तथा आक्रमण गरे ।

यसै अवधिमा नालान्द बौद्ध विश्वविद्यालयको विनाश गरेर हजारौं बौद्ध भिक्षुहरुको हत्या गरेको समेत इतिहास पढ्न पाइन्छ । त्यतिबेलै उनले नेपालको कपिलवस्तु र लुम्बिनीमा समेत विनाश गरेको अनुमान विद्वानहरुले गर्ने गरेका छन् । सोही समय थुपै्र बौद्ध भिक्षुहरु नेपाल छाडेर तिब्बतमा शरण लिन पुगेको बताइन्छ ।

पन्ध्रौं शताब्दीसम्म मुसलमानी प्रभाव कपिलवस्तु र लुम्बिनीको दक्षिणतिर कायम थियो । दिल्लीका सुल्तान सिकन्दर लोदीले बिहार र उत्तरी राज्यका केही भागमा कब्जा जमाएका थिए । तनहुँ र पाल्पाका स–साना राजाहरुलाई पनि प्रभावित पारिरहेका थिए । यसै समय उनले कपिलवस्तु र लुम्बिनी क्षेत्रमा पनि प्रभाव जमाए र बाँकी रहेका संचरनामा क्षति पुर्याएको विश्वास गरिन्छ । यीबाहेक थुप्रै मुगल शासकहरुकोे चपेटमा लुम्बिनी पर्यो र इतिहासको गर्भमा हरायो भन्नेहरु पनि छन् ।

५. सातौं शताब्दीअघि नै ओझेलमा थियो लुम्बिनी
चौथो शताब्दीमा सेङ साई र पाँचौं शताब्दीमा फाहियानले कपिलवस्तु र लुम्बिनी भ्रमण गर्दा जे जस्ता संरचना र चहलपहल देखे, सातौं शताब्दीमा हुएन साङले देखेनन् । ईस्वी संवत् ६३६ मा उनले शुद्धोधनको राजधानी कपिलवस्तु उजाड भइसकेको देखेका थिए । दरवारका भौतिक संचरनाहरु ढलेका थिए ।

नगरमा जनसंख्या एकदमै पातलो थियो । दरवार शून्य थियो । कपिलवस्तुपछि लुम्बिनी पुगेका उनले लुम्बिनीलाई नाजुक अवस्थामा भेट्टाए । उनको यात्रा वर्णनलाई आधार मान्दा लुम्बिनी र कपिलवस्तुमा मात्र नभई भारतका अधिकांश बौद्ध स्तूप, स्तम्भ र बिहारहरु भग्न अवस्थामा पुगिसकेका थिए । हुएन साङको आगमनपछि चौधौं शताब्दीसम्म लुम्बिनीका विषयमा कसैका यात्रा वृतान्तहरु वा लिखतहरु पाइँदैनन् । तथापि दशौं, एघारौं र तेह्रौं शताब्दीका केही पुरातात्त्विक संरचनाहरु भेटिएकाले चौधौं शताब्दीसम्म लुम्बिनी पूरै हराइसकेको थिएन भन्न सकिन्छ ।

रिपु मल्लको आगमनले त्यतिबेलासम्म लुम्बिनी विस्मृत भइसकेको थिएन भन्ने कुराको पुष्टि गर्छ । तर, सातौं शताब्दीदेखि नै यसको महत्त्वलाई विभिन्न क्षेत्रबाट उपेक्षा गरिएको भने पक्कै हो । त्यसरी सातौं शताब्दीपछि विस्तारै उपेक्षित बनेको लुम्बिनी चौधौं शताब्दीदेखि पूर्ण रुपमा हराएर १९ औं शताब्दीको अन्त्यमा एकाएक फेला परेको थियो । नेपाल प्रेसमा प्रकाशित

सन्दर्भ सामग्री
– लुम्बिनी विकास कोषले उपलब्ध गराएका लिखतहरु,
– बसन्त बिडारीको लुम्बिनीको मौन आह्वान
– बसन्त महर्जनको लुम्बिनी ऐतिहासिक तथा पुरातात्त्विक अध्ययन
– डा. गौतमवीर बज्राचार्यको लुम्बिनी, हिद बुधे जाते शक्यमुनिति

साभार: नेपाल बौद्ध न्युज

Website: http://nepalbuddhistnews.com/2022/04/3985

Facebook
WhatsApp
Twitter
Email
Translate »