बौद्ध गुरुले के Rolex घडी लगाउन वा महँगो गाडी चड्न मिल्छ?

Facebook
WhatsApp
Twitter
Email

बौद्ध गुरुहरुले महंगा सवारी साधन र समानहरु प्रयोग गर्नु हुन्छ कि हुन्न?

भगवान बुद्धका चेलाहरुमा तात्कालिन राजा र महाराजाहरु थिए । देशै बुद्धको पाउपद्ममा अर्पण गरेका थिए । त्यस्तै, अरु चेलाहरुमा अनाथपिण्डिक आदि जस्ता धेरै धनाड्य साहु/व्यापारी जस्ता खरबपती थिए जस्ले जेतबन बुद्धलाई किन्दा राजकुमार जेतको माग अनुसार जेतवन भरी असर्फी विछ्याएर त्यो पुरै वन किनेर बुद्धलाई उपहार दिएका थिए। यसरी गुरुहरुलाई सबैभन्दा उत्कृष्ट उपहार र वस्तु चढाउने चलन पहिले देखिनै बौद्ध धर्ममा पाइन्छ ।

अनि बुद्ध आफै भन्नू हुन्थ्यो:

“दरिद्रता भनेको दु:खनै हो! दरिद्र र भोको पेटले धर्म अध्ययन र अभ्यास गर्न सकिन्न ।”

त्यसैले बुद्धको धर्ममा सम्पत्ती र सुखसुविधालाई साम्रै मानिन्छ, धर्म गर्न आवश्यक कुरा मानिन्छ, किनकी केही न्युनतम सुखसुविधाको अवस्थामा मात्र शान्तिसंग ध्यान भावना गर्न सकिन्छ । बुद्धले पहिले संसारिक दु:खबाट अलिकती सजिलो हुने अभ्युदय (संसारकै अलि सुविधा हुने स्थिती) सिकाउँदै अनि बल्ल त्यस्को आश्रयमा नि:श्रेयस (मोक्ष) सिकाउंदछन् । साधारणत: उहाँको मार्ग यसरी क्रमिक हुन्छ ।

तर वैभव र संपत्तिमा लिप्त हुने वा नहुने त मन हो, मनको त्यो स्वभावलाई वशमा राख्न आवश्यक हुन्छ । त्यो चैं सबैभन्दा महत्वपुर्ण पक्ष हो बुद्ध धर्मको । माथि उल्लेख गरिसकिएको छ – बुद्धलाई देशै, संसारै चढाएका थिए उनका राजा महाराजा चेलाहरुले, तर उहाँ लिप्त हुनुहुन्न थियो।

त्यसैगरी आजपनी करडौ अरबौं चडाइन्छ बौद्ध गुरुहरु र भिक्षु-भिक्षुणिलाई – न बौद्ध सिन्धान्त न बौद्ध धर्म त्यस्को विरुद्ध जान्छ किनकी त्याग, अलिप्त मनले हुने हो।

जंगलमा बसेर पनि मान्छे संसारका मोहमायामा मस्त लिप्त भएर बस्न सक्दछ । बुद्ध धर्म भनेको “मनको” तालिम हो । त्यसैले नेपाल-भारतमा विद्यमान “हिन्दु” संस्कृतिक चस्मा लगाएर बौद्धलाई हेरेर बुद्ध धर्मको यो सूक्ष्म स्वभाव बुझिन्न – दरिद्रतालाई बुद्ध धर्मले पुज्दैन । बुद्धको अनुसार दरिद्रताले भोक, रोग, शोक, समाजिक अपराध, अन्याय र अत्याचार बढाउँदछ र धर्म टिक्दैन।

अझ वज्रयान त अझ सुखसयलमा बस्नेहरुको लागि सिकाईएको थियो । राजा इन्द्रभुतिले बुद्धलाई, “तपाईं ज्ञानि, महात्मा, सर्वज्ञ हो भने म राजालाई पनि हुने, राजपाट गर्दागर्दै अभ्यास गर्न सकिने धर्म दिनुस्” भनेर भनेकोले वज्रयान भगवान बुद्धले दिनु भएको हो । त्यसैले वज्रयानमा वैभव, संपत्तिलाई झन सहज रुपमा लिइन्छ ।

बुद्ध धर्मको स्वभाव र सोचाई फरक छ । भारत र नेपालमा दरिद्रतालाई अध्यात्म भनेर पुज्ने चलन र संस्कृती छ । तर सामान्यतया त्यो गलत दृष्टिकोण हो। भोकै नाङै भएर मोक्ष हुने भए भोखमरी लागेको, अनिकाल भएको, गरिब देशका सबै जनताले स्वतः निर्वाण प्राप्त गर्नु पर्ने हो।

अनि भिक्षु-भिक्षुनिलाई नि? भन्ने प्रश्न आउन सक्दछ जस्को लागि एउटा कथा यहाँ राख्दछु।

दुई चान (Zen) धर्मका भिक्षुहरु लामो यात्रापछी आफ्नो मंदिर/गुम्बा जाँदै थिए । बाटोमा नदि तर्नु पर्ने थियो । त्यो नदिको किनारमा एक युवतिपनी नदि तर्न नसकेर टोलाएर बसिरहेको उनिहरुले पाएछन् ।

ती दुई मध्ये एकजनाले “म बोकेर पारी तारिदिन्छु” भनेर भनेछन् र तारी पनि दिएछन् । यो कुरा अर्को भिक्षुलाई मन परेनछ र बाटोभरी केही बोल्दै नबोली गुम्बासम्म पुगेपछी केही समय पछि उनले क्रोधित हुँदै ती युवती बोक्ने भिक्षुलाई भनेछन् – “विनयको नियम विपरित किन स्त्रिलाई छोएको?”

दोस्रो भिक्षुले अचम्म मान्दै उत्तर दिएछन् – “मैले त उन्लाई नदिको किनारमै छोडेर आएको थिए, तिमिले त अझै काँधमा बोकिपो राखेका रहेछौ! धत् !!”

यो कथाले बौद्ध धर्ममा कसरी मन प्रधान हुन्छ भनेर देखाउँदछ ।

जसरी कर्कलोको पातमा अडेको, चम्किलो मोतिको विन्दुजस्तै पानीको थोपाले कर्कलोको पातलाई कहिल्यै भिजाउँदैन, र कर्कलोको पात सधैं ओभानो हुन्छ, त्यसैगरी एक बौद्ध साधकले संसारका कुराहरुसंग असंग र अलिप्त भएर, संसारमा हाँसी खेली मोक्षको बाटो तय गर्नु पर्दछ ।

<भवतु सर्व मंगलम्>

फेसबुक वाल बाट साभार : Bibek Sharma (Buddhist teacher and PhD candidate)

Facebook
WhatsApp
Twitter
Email
Translate »